आशीर्वाद जस्तो सिरानीमा उभिएको
माछापुच्छ्रे हिमालको छायामा उभिएर
म तिमीलाई सलामी दिन्छु
तिमीलाई पनि एउटा नँया हिमाल मानेर ।
अहिले तिमीलाई यो चिठी लेख्न बस्दा
मेरो कोठाको मौनता
परिणत भएको छ कुनै बौद्ध विहारको शान्तिमा
जहाँ बालेको धूपबाट निस्केका धुवाँझैं
बिस्तारी -बिस्तारी उठेर
मेरो अगाडी उभिरहेछ
तिम्रो बुढो र पातलो शरीर
एउटा अस्पष्ट तर पवित्र अनुहार बोकेर ।
र मलाई अनायास याद आइरहेछ आफ्नो गाउँको
जहाँ एउटा खोला छ – ‘लेते खोला’
तिमीजस्तै शान्त र दुब्लो
तर जब त्यो सानो खोलामा बाढी आउँछ
वरिपरिका ठुल्ठुला चट्टानहरुको पनि पाइला डग्मगाउँछ
र बाढी थामिएपछी
त्यसलाई छेक्न खोजेका घमण्डी पहराहरुले
आफुलाई भत्केको, भास्सिएको र चोइटिएको पाउँछन्
मेरो ‘लेते खोला’ !
म ढुक्क छु
तिम्रो बाढीले पनि मिल्क्याउनेछ
ती डलरका कात्रो बोकेर
तिम्रो देशमाथि आइलागेका बर्बरहरुलाई ।
भूगोलको परिधिले मलाई बाँधे तापनि
राष्ट्रहरुको बीचमा सीमारेखाहरुले
मलाई तिमीसँग बेग्ल्याए तापनि
यी सबभन्दा माथि जहाँ चेतन छ
यी सबभन्दा सच्चा जहाँ मुटुको ढुकढुकी छ
त्यहाँ म तिमीसँग छु
र युद्धमा परेको छु
तिम्रो प्रत्येक घरको भत्काइमा म बेघर भएको छु
तिम्रो प्रत्येक पूलको टुटाइमा म टुटेको छु
तिम्रो प्रत्येक गोल-गोल मंगोल अनुहार भएकी
आइमाइको बेईज्जतीमा
मैले आफ्नी पत्नी र दिदि-बहिनीहरुलाई
बाटोमा निर्वस्त्र देखेको छु
तिम्रो प्रत्येक बौद्ध-बिहारको विध्वंसमा
मैले आफ्नो स्वयम्भुको ज्ञानचक्षुमा
आँसु उर्लिएको देखेको छु
तिम्रो हनोइमाथिको बमवर्षाको छिर्का
मैले आफ्नो धरहरामाथि परेको अनुभव गरेको छु
र बमवर्षाका रातहरु
मैले पनि जागरणका ट्रेन्चहरुमा बिताएको छु
को सक्छ निदाउन खरबारीमा
वरिपरी मुढाहरु दन्किरहेको बेलामा !
यी सबभन्दा बर्ता
यी सबभन्दा माथि
मैले तिम्रो प्रत्येक मृत सिपाहीबाट
बाँच्ने दर्शन सिकेको छु
जीवनको अर्थ बुझेको छु
र तिम्रो सानो देशको ठुलो आत्माबाट
मैले आफ्नो सानो आत्माभित्र
एउटा ठुलो ज्योति सल्केको पाएको छु
हनोईमाथिको बम
शहरमाथि होइन, मान्छेमाथि बम हो
र मैले तथा मजस्तै
सारा मानिसहरुले ती बमहरुलाई
आफूमाथि पड्केको भन्ठानेका छौं
मेरो कमरेड !
मेरो हिमाल !
मेरो ‘लेते खोला’
विश्वास गर
मैले तिम्रो जीतको विश्वास गरेको छु
मानिस मर्छन्
जसरी डढेलोमा रुखहरु डढ्छन्
तर मानवता कहिल्यै मर्दैन
त्यो फेरी पलाउँछ
डढेलोपछि उम्रिने असंख्य च्याउहरुजस्तै ।
आशीर्वादजस्तो सिरानीमा उभिएको
माछापुच्छ्रेको छायामा उभिएर
प्रतिज्ञाजस्तो वरिपरि दृढ उभिएका पहाडहरुलाई
हातेमालो गरेर
म किरिया हाल्ने सामर्थ्यमा छु
जीत तिम्रो हुनेछ
जीत हाम्रो हुनेछ
अन्तरिक्षमा मर्ने कुकुरको शोकमा
गिर्जाघरमा रुने ढोंगी मानवता
धरतीमा गरेको हत्याको पछुतोमा
आत्महत्या गर्न बाध्य हुनेछ ।
Archives: Poems
Description.
यो हल्लै हल्लाको देश हो
कानमा इयरफोन लगाउनुपर्ने बहिराहरु
जहाँ सङ्गीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा विजेता हुन्छन्
र जहाँ प्लाष्टर गरिएका हातहरुमा
सुरक्षाको सङ्गीन थमाइन्छ,
जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि
डोकोका डोको,
खर्पनका खर्पन,
ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,
स्टक एक्सचेन्जका शेयरजस्तै
आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरु
तन्नेरीहरुका अगुवा हुन्छन्
जहाँ जतिसुकै व्यभिचारीको पनि
इज्जतको ‘वाश एन वियर क्रीज’ कहिल्यै बिग्रिन्न,
जहाँ जतिसुकै/पाप गरेको वेश्याको पनि
अनुहारको टेरेलिनको छाला कहिल्यै खुम्चिन्न,
जहाँ कृषि-मेलाहरुमा
दोब्बर उब्जनी हुने बीउहरुको प्रदर्शनी गरिन्छ
र जहाँ खडेरी र अनिकालका सम्चारले भरिन्छ,
जहाँ वाग्मती र विष्णुमतीका साटोमा
अब बीयर र ह्विस्की बग्दछन्,
र जहाँ अब पशुपतिनाथ र स्वयम्भूनाथका मन्दिरको उपयोग
तिनका प्रसाद खानमा कम, र
तिनका पछाडिका वनहरुमा
आडम र इभको ‘वर्जित फल’ खानमा बर्ता गरिन्छ,
जहाँ चिनीको कारखानाले
चिनी होइन, रक्सी मात्र बनाउँछ
र जहाँका स्वतन्त्र आमाहरुले
छोरा होइन लाहुरे मात्र जन्माउँछन्
जहाँ रिन तिर्नको लागि महाकविले
असमयमै मर्नुपर्दछ,
जहाँ स्वदेशको पीरले बहुलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ,
र जहाँ सरस्वतीकी एक्ली छोरीले
बिनाउपचार बैंसमै कुँजिएर जीवन बिताउनुपर्दछ,
जहाँ गाइडले टुरिष्टलाई
नेपालको बिदेशलाई देन सम्झाउँछ
र बिदाको बेलामा उससित उसको
विदेशी क्यामराको देन माग्दछ,
जहाँ तन्नेरीहरु
किल्ला काँगडा र नालापानीको गीत गाउँदै
अब कवाज खेल्छन्
टाई र कोटको कलरमा खुकुरी भिरेर
यो देशमा मलाई भन्न कर लाग्छ
आफ्नो मुटु चिरेर
कि ए मेरो देशवासीहरु हो
ए मेरो देशका राष्ट्र-कविहरु हो
ए मेरा देशका सम्माननीय नेताहरु हो
भन्न मन लाग्छ भने भन मलाई
स्वदेशनिन्दक वा घृणाचिन्तक
तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो
अंशैबण्डा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरुमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ
र यो देशको असंख्य बगरहरुमध्ये एउटा बगरमाथि
मेरो पनि चिता हुनेछ
यही भावनाले मलाई यो भन्न बाध्य गराउँछ र
आँट दिलाउँछ यो भन्न
कि ‘यो हल्लै हल्लाको देश हो’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो।
ज्वरमुक्त सूर्य, जलनमुक्त आकाश र तृप्त ताल
मैले पाएँ
नीलो निम्ता–पत्र
तिम्रा छालहरुको
र बादलु कछारलाई क्षितिजमा
झुण्ड्याएर— मैले
हाम्फालें तिम्रो जलमाथि
डुबुल्की मारें तिम्रो
गहिराइभित्र आकाशजस्तै
सिङ्गै आकाशजस्तै नाङ्गै
समाविष्ट गर्यौ तिमीले पनि
सम्पूर्ण मलाई आफुमा
आफुभित्र
कुहिरोहरु पन्छाएर
छालजस्तै उर्लिएर
तालजस्तै उदाङ्गिएर
नाङ्गिएर
कति सन्तुष्ट हाँसो छर्दैछ अब
मेरो ज्वरमुक्त सूर्य तिम्रो अँगालोमा
अब मलाई मेरो चट्याङ चुटुङहरुले पोल्दैनन्
बिलाइसके तिम्रा अज्ञात कुराहरुभित्र
तिम्रा चन्चल माछाहरु
अब तिम्रो शीत जललाई उनीहरुले
छिचोल्दैनन् ।
उठेर फर्किनुपरे अनि मैले आफ्नो
पूर्वस्थानमा अब म अशान्त हुन्न
असन्तुष्ट हुन्नँ,
कि म स्पष्ट देखिरहेछु
तिमीभित्र मैले कुँदेको
मेरो आफ्नो प्रतिबिम्ब
चल्मलाईरहेको
मेरो आफ्नो छाया
सल्बलाइरहेको ।
मर्दैछ हामीमा हामी बाँचेको युग
बाँधका मुहान
अनि खोला नाला र तालका कुरहरुमा
थापेजस्तै माछा समाउने पोडेहरुले डोका र जालहरु
यो युग जसमा बाबुहरुले
भोगपछिको जिम्मेदारीसँग बाँच्न
थाप्छन्
गर्भाशयतिर लम्केका आफ्नै सम्भावित सन्तान
शुक्रकीटहरुलाई नष्ट गर्ने पासोहरु ;
र आमाहरु
आफ्नै आनन्दलाई चिन्तामुक्त गर्छन्
गर्भाशयको ढोकामा
आफ्नै सम्भावित छोरा–छोरीको प्रवेशलाई
निषेध गर्ने पालेहरु उभ्याएर
यो युग जसमा
भाग्यवश
संयोगवश
पाए भने कसैले प्रवेश गर्भाशयभित्र
तीमध्ये पनि कैयन् नष्ट गरिन्छन्
आफ्नै आमा–बाबुद्वारा खटाइएका
जिउँदो वा मुर्दा समाउने आदेश पाएका
यमदूतहरुद्वारा
यस युगमा
यस्तो युगमा जन्मेका छौं हामी
जन्मिनुअगावै मृत्युको त्रास बोकेर
हत्याको सुइँको पाएर
आएका छौं हामी यस पृथ्वीमा
आफ्नै निर्माताहरुको इच्छाविरुद्ध
उनीहरुको षड्यन्त्रलाई तोडेर
पहिलो पटक
नीलो चहकिलो आकाशमुनि पहिलो पटक
हरियो भरियो पृथ्वीमाथि पहिलो पटक
पहिलो
पहिलो
र पहिलो पटक
खोल्यौं पनि त हामीले आँखा यस धरतीमा
पोलिनलाई ठीक भइसकेका
नाजी ग्याँसच्यांम्बरका कैदीहरुले मूर्छा परेर
अन्तिम घडीमा मुक्ति पाएर आँखा खोलेजस्तै
आफूलाई मृत
र आँखाअगाडिको संसारलाई
मृत्युपछिको अर्कै लोक भन्ठानेर
त्यसैले हामी बाँचिरहेका छौं
बाँच्नुप्रति चिसो र शंकालु भएर
र हामी हुर्किरहेका छौं त्यस युगमा
जुन युगमा
हामीभित्र
हामी सँग–सँगै
हर्किरहेको छ एउटा तीव्र अनास्था
स्वयं यस युगप्रति नै
यस युगको अस्तित्वप्रति नै।
(२०२४–रुपरेखा)
साँझको नयाँ सडक जिन्दगीको यात्रा
बाह्य सुकिली नयाँ सडक, छाँट्टिएर
पेटीहरु ओहोर–दोहोर गर्छिन् साँझमा
र स्लिभलेस् ब्लाउजको पाखुरामुनि खिचापोखरी
निसासिन्छ गल्लीका
काखीका रौंजस्ता झ्वास्सउम्रेका धमिला, दुर्गन्ध
घरहरुका माझमा
पसलहरुका शो–विण्डोभित्र
सू–जि वाँग हाँसो हाँस्तछन् हङकङ सुन्दरी
मैडम टेरिउन, मिस् नाइलन र सुश्री टेरेलिनहरु
र सम्मोहित कुमारी लूपकुमारीहरु
पाखुराभरि पेन्सिलिन इन्जेक्सनको
यात्राका पदचिह्नहरु बोकेर
अँध्यारा गल्लीहरुतिर लम्किन्छन्
ब्रेसरीको खर्पनमा बासी यौवनका फलहरु उचालेर
‘ट्रीप’ मा मग्न हिप्पीकुमारको अंगालोमा
अर्धनग्न पीताम्बर साडी–ब्लाउजमा
फ्लावर बेबी हिप्पी मैयाँ नयाँ सडकमा हिंड्छे
नयाँ सडकका तमाम आँखाहरुलाई
आफ्नो नाइटोमा खोपाएर
र वरिपरि उभिएका पीपलको बोटमा धर्मपुत्रहरु
भित्र–भित्रै करुवा भइदिन्छन्
चौतारीवरिपरि उम्रिन्छन्
प. स. क. को ड्रेनेजले मिल्काएका फोहोरहरु
र कमलपित्ते आँखाले आउँदो भोलीलाई हेर्दछन्
अखबारका खापाहरु उघारेर ।
एउटी माग्ने आइमाईले न्यूज सेन्टरअगाडि उभिएको
सूटेड टाटकुमार नेपाली रित्तो खल्तीको एक्सरे गरिदिन्छे
पाँच पैसा मागेर
र टाटकुमार नेपाली
काठमाडौंको आकाशमा गालीको बेलून उडाएर
भाग्योदय चिट्ठातिर हेरेर आफूलाई थुकिदिन्छ।
म
नयाँ सडकमाथि
बोकेर
उभिनुको कुनै अर्थ पाउँदिनँ
र घरबार शब्दलाई एउटा अर्थ दिन
(दिऊँसो घर र राति बार आवाद गरेर)
लेटेष्ट कविताको पारिश्रमिकलाई जाँड बनाएर घोक्छु
र नयाँ सडकलाई नाप्छु
नयाँ कविताको प्लट सोच्तै
र अनायास टुँडिखेलतिर लम्किन्छु
वरिपरिका भीडहरुतिर भैरहवा सुगर मिलको हाँसो फालेर
शहीदद्वारतिर पुगेर म अडिन पुग्छु
र अन्तिम खिल्ली चारमिनारको सल्काएर
म रित्तो बट्टाभित्र काठमाडौंको
रिक्तता हालेर मिल्काइदिन्छु
र एक टक शहीदद्वारलाई हेरेर शहीदद्वारतिर
एउटा मौन प्रश्न फाल्छु
शहीदद्वार मलाई हेरेर फिस्स हाँस्छ
र कुहिरोभित्र हराउँछ।
(२०२५–मधुपर्क)
नयाँ वर्ष
नयाँ सरुवा भई आएको हुलाकेझैं
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिंडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता–घडीको लङ्गुर हल्लिरहेछ उसको
पदचापले
टवाक्……….टवाक्……….टवाक्……….टवाक्……
निस्तेज भई आकाश पल्टेको छ
न्यास्रो अनुहार पारेर
बेमौसमको बर्षात
बेला–कुबेलाको बादलको गड्याङ–गुडुङ
आकाशलाई पखालो लागेको छ
विष्णुमतीको फोहर हैजे पानी पिएर
ट्वाँ,
सहनाईको बेसुरा ध्वनिबाट निस्किरहेका छन्
हैजाका असङ्ख्य अदृश्य कीटाणुहरु
मध्याह्न दिन
चर्को घाम
सारा रुखहरुले आफ्नो आङ कन्याइरहेका छन्
फेरि एकचोटि
नयाँ वर्ष आएको छ
फेरि एकचोटि
भित्ताको नयाँ क्यालेण्डरमा
आफ्नो जीवनको भिसा झुण्ड्याउनु छ
फेरि एकचोटि
सँगी साथीहरुको सूची बनाउनु छ
फेरी एकचोटी
भयानक बमहरु बोकेर, उडिरहेका हवाईजहाज
र रकेटहरुमुनि बसेर
लेख्नु छ प्रियजनहरुको नाममा
सफलता, शान्ति र दीर्घायुको शुभकामना–पत्र।
पहिरो जाने पहाडमुन्तिर
अनिश्चित भविष्यका आशंकामय पीडा
खप्न नसकी
‘थेलोडोमाइड’ खाएकी गर्भिणी रात
जन्माऊँछिन् लंगडा, लुला, कुच्चिएका बिहानहरु
जब बिउँझन्छु म
छिप्पिन आँटेको जाँडको घैंटोजस्तो
उत्तेजित टाउको उचालेर
अनि हेर्दैछु– ताजा अखबार :
चील र गिद्ध उडिरहेको आकाश
सिनुको गन्ध बोकेका
म गाड्छु दाँत टोष्टमाथि
र मिल्काउँछु एक टुक्रा दैलोको घामतिर
अनि घाम फैलिन्छ चाउरेको विश्वमाथि
बासी टोष्टमाथि पग्लिएको नौनीझै
यसरी सुरु हुन्छ एउटा नयाँ दिन
यसरी सुरु हुन्छ अर्को नयाँ दिन
अर्को….अर्को…….र नयाँ दिन
हतार–हतार आउने र जाने
जुवाडीको खल्तीका नोटजस्ता चाउरिएका
असङ्ख्य नयाँ दिनहरु
घुमिरहेछ पृथ्वी
आफ्नो धुरीमा, निरन्तर
तर ‘रुलेट’–को चक्काझैँ
जहाँ प्रत्येक व्यत्ति टन्न छ उत्तेजनाले
बेग्लाबेग्लै बाजीमा थापिएका सिक्काझैँ
आकाश त्यही छ पुरानो
तर अब त्यहाँ
चुच्चोमा खर च्यापेर गुँड बनाउन लम्केका
गौँथलीको साटोमा
उड्दछन् पचासौ मेगाटन बोकेका रकेटहरु
क्षितिज तिनै छन् घाम उदाउने र अस्ताउने
तर त्यहाँ अब थकित सूर्य पल्टन्छ
अन्तरमहाद्वीपीय क्षेप्यास्त्रको सिरानी हालेर
यो के भयो एक्कासि मेरो विश्वलाई ?
यो के भयो विश्वको ‘म’ – लाई ?
किन सक्तिन म ‘स्काच अन द राक्स’ मा
जलविहार गरेर आफ्नो जलनलाई मेट्न ?
किन सक्तिनँ म आफ्ना कोमल भावनाहरुलाई कुल्चन
‘लोलिटा’ – लाई जस्तै;
किन सक्तिनँ म डुब्न,
‘विथोवन’ र ‘मोजार्ट’ – को सिम्फनीमा
किन ट्रम्पेट र क्यारोनेटको मुख
हेर्दाहेर्दै परिवर्तित हुन्छन्
तोप र बन्दूकहरुको नालमा ?
आहा! मलाई थाहा छ शान्ति कहाँ छ
शान्ति हेर उः त्यहाँ भेडासिङको चौबाटोमा छ
तर किन म शान्त हुन सक्तिनँ
त्यहाँ सांढे जुझाइको माझमा
घाँटीको दाह्रीमा उस्तरा चलाउन दिइरहेको मान्छेजस्तै !
मेरो निम्ति त शान्ति
जँड्याहा जन्डो मान्छेको स्वास्नीको गर्भमा छ
आहा! कति क्षीण छ मेरो आशा,
हाम्रो आशा
एउटा कलिलो हँसिलो संसारको न्वारान गर्ने।
(पोखरा)
तीतरा, बट्टाई र भक्कूको राँगोका सन्तानहरुप्रति
जर्मनका धावैमा होस्
वा बर्माको घेरामा
मलायाका रवडका वनमा होस्
या नेफा र लद्दाखका पराइ लडाइँमा
ती जो मरे
विना कुनै स्वार्थ
विना कुनै अर्थ
व्यर्थ
तीतरा, बट्टाई र भक्कूको राँगोजस्तै
अरुको हा…हा…….हामा लागेर
अरुको थपडी र नाराले जागेर
अरुले ख्वाएको जाँड र कटले मात्तिएर
‘आयो गोर्खाली’ भन्दै
(गोरु खालि बन्दै!)
युद्धमा हाम्फालेर
ती मरेका लोग्नेहरुको पेन्सनले
आफ्नो छोराको पास्नी गर्ने ए अभागिनी स्वास्नीहरु!
ती मरेका छोराहरुको आर्जनले आफ्नै चौरासी पूजा गर्ने
ए बूढा–बुढीहरु!
ती बितेका साथीहरुको जर्सी लगाएर
रोदीमा सोल्टी फकाउने ए तन्नेरी मान्छेहरु हो !
ती मरेका प्रेमीहरुको कोसेली चुरा लाएर
डोलीमा बस्ने ए ब्याहुली जेठी–कान्छीहरु हो !
खूपै सुहाएको छ तिम्रो छातीमा
यी तक्मा ‘परम वीरचक्र’ र ‘भिक्टोरिया क्रस’ को
तर के आउँदैन यसबाट कहिलेकाहीं
ओस्सिएको गन्ध तिम्रो आफन्तहरुको लाशको!
(पोखरा)
भैरहवा
टाढा-टाढासम्म
जता हेर्यो उतै मैलो, फुस्रो धरती
उजाड, उदाङ्ग
आदिदेखि अन्तसम्म एकनास
न कतै गर्वले उठेको छ
न कतै विनम्रताले झुकेको छ
न कतै उन्मुक्त मनले खुलेको छ
न कतै जलाउँदै लुकेको छ
नखदेखि शिखसम्म
वक्ष, नितम्ब केही पनि विकसित नभएको
बाँझी तरूनीको आङजस्तो सपाट,
मुश्किलले तीस-चालिस
घरजस्ता घर
बाँकी कुभिन्डोका गाँड निस्केका
कुप्रा झुप्राहरू, डन्डीफोरझैं
यताउता जथाभाबी बेढङ्ग उठेका,
मानिस :
कोही पूर्वका
कोही पश्चिमका
कोही पहाड काँठका
कोही मधेश फाँटका
कोही भारतका, कोही भोटका
तर सब यहाँ भेला भएका छन्
खोजीमा हरिया नोटका
यहाँ मानिस कानेखुसी गर्छन्
नोट गनेको कागजे आवाजमा
पुरानो मोहर बजाएको आवाजमा
यहाँ मानिस हाँस्तछन्
यहाँ घाम उदाउँछ
पसलहरूका ढिकभित्रबाट
र बहीखातामा जिल्लाझैं राता हुन्छन्
यहाँ घाम डुब्छ कन्तुरमा
र बहीखाताका पाताहरू पंहेलिन्छन्
सन्ध्याकालीन क्षितिजझैं
टाढा-टाढा देखिन्छन्
बुटवलका डाँडाहरू केर-मेर केर-मेर
बहीखाता सिरानीमा ‘शुभलाभ’ लेखिएझैं
यो ठाउँ
एउटा यस्तो घरमा बसेजस्तो
जहाँ न भित्ता छन्
न खामा
न आँखा राख्ने झ्याल छ
न ह्रदय सजाउने गमला
न हाँसो उमार्ने बारी छ
न त कतै मिठो गीत सुनिन्छ
न कतै मनोहर दृश्य देखिन्छ
सुनिन्छ त फगत
हावामा पौडिरहेका ट्रान्जिस्टर
ब्रोङ्काइटिस भएका ट्रकहरूको खोकी,
बस्ने उमेर भएका बसहरूको घ्यार्र…. घ्यार्र
लाहुरेहरूको बुटको आवाज
र मठ्याहा नेपाली बोली – ’अच्छा यार’
र देखिन्छ त केवल
साँझमा
रिक्सा, साइकल, भट्टी र सडकमा
लाहुरेहरू र कान्छीहरूको मांसाहारी प्यार
उफ्! यो पट्याइलाग्दो ठाउँ
यो अत्यासलाग्दो ठाउँ,
जता हेर्यो उतै फुङ्ग उडेको
फुस्रो, न्यास्रो
भैरहवा
हिलोको तलाउबाट निस्केको
भैंसीको-‘भै’
तावामा छुटेर जलेको रोटीको – ‘र’
गालीजस्तो नरमाइलो तातो
हावाको-‘हवा’।
एक कविता
‘भोक लाग्यो’ ठिटोप्रति
न गाँसको प्रबन्ध
न बासको ठेगाना
तैपनि
बाँचेकै छ
हुर्केकै छ
यो मगन्ते ठिटो
नयाँ सडकको पेटीमा
पेटीजस्तै सधैं असङ्ख्य पाउमुनि कुल्चिएर
——–
कसैको वासनाको द्रुतगामी रकेटमा राखेर
यो ठिटो उडाइयो
अनजान र अनिश्चित भविष्यको अन्तरिक्षमा
विना कुनै स्पेस सूट !
‘अक्सिजन मास्क’
र सुरक्षित सन्चालनको
तर ऊ
बेवारिसपनाको भारहीन अवस्थाबाट
सकुशल ओर्लियो
नयाँ सडकको पेटीमा
झुत्रो प्यारासुट ओढेर
——–
यो शिशु
जन्मियो यिशूजस्तै
कुमारी आमाको गर्भबाट
र बसेको छ अहिले ऊ
नयाँ सडकको पेटीमा
ल्याम्प–पोष्टको ‘क्रस’ बोकेर |
—–
पुसको जाडो
रौं ठाडो हुने रात
उदास, उजाड, फूटपाथ
एक कुनामा सिउरेर
सुतेको छ ऊ झुत्रो बोरा र पुराना अखबार ओढेर
अखबार : जसको छातीमा छापिएका छन्
ठूला–ठूला अक्षरमा ‘बालदिवस’ को समाचार
मन्त्रीज्यूबाट उद् qघाटन,
मिठाइ र पुरस्कार वितरण
तथा बाल–बालिकाहरुको प्रगतिको विज्ञापन
सुुत बाबा सुत
सुत ज्ञानी सुत
सुत राजा सुत
यसरी नै निश्चिन्त भई सुत
एक दिन यस्तो पनि आउनेछ
जब तिम्रा यी अखबार र झुत्रे बोराका
लुगा पनि
झुन्ड्याइने छन्– म्युजियममा
कालुपाँडेजस्तै
कालुपाँडेको लुगासँग
र त्यस बेला लेख्नेछ इतिहासकारले
‘उहिले–उहिले’ को नेपालमा
दुई थरीका मानिस थिए
एक थरी
जो अखबारमाथि पल्टन्थे
हेडलाइनको सिरानी हालेर
महत्त्वपुर्ण खबर बनेर,
अर्को थरी
जो त्यही खबरको न्यानो ओढेर
पुस–माघको जाडो काट्थे बेखबर भएर
…….उहिले–उहिलेको नेपाल
एउटा बासी अखबारजस्तो थियो।
दुई सेता कलिला हत्केलाको परेवा : तिम्रो नमस्ते
कौसीमा उभिएर लज्जानत
तिमीले मतिर गुलाफी हतारमा उडाएको
दुई सेता कलिला हत्केलाको परेवा : तिम्रो नमस्ते
दिनभरि
मेरा आँखाको आकाशभरि
तिम्रो कौमार्यको सेता पखेटा फिंजाएर उडिरहन्छ
साँझभरि
मेरो हृदयको क्षितिजभरि
तिम्रो कैशोर्यको गुलाफी रङ्ग छरिरहन्छ
रातभरि
मेरो निद्राको दलिनभरि
तिम्रा सप्तरङ्गी चुराहरुको बुट्टा जडिरहन्छ
र सधैं भरि
सधैं –सधैं सधैं भरिको निम्ति
मेरो मुटुभरि
मेरो परेलाभरि
मेरो ढुकढुकीभरि
तिम्रो एकलासपनाको अस्फुट प्रार्थना र
खित्काहरु भरिरहन्छ।
कौसीमा उभिएर लज्जानत
तिमीले मतिर गुलाफी हतारमा उडाएको
दुई सेता कलिला हत्केलाको परेवा :
तिम्रो नमस्ते।
चिसो एष्ट्रे
यहाँ जो आउँछन्
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छन्
हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन्
र यहाँबाट जो जान्छन्
पोल्टाभरि निभेका विश्वासहरू र ठुटा सपनाहरू सोहोरेर जान्छन्
यस्तो छ यो चार भन्ज्यांग खाल्टो
एउटा चिसो एष्ट्रेजस्तो छ
यो चार भन्ज्याङ्ग खाल्टो |
अभिशप्त घर
जब–जब बायाँ र दायाँ पट्टिका छिमेकीहरुले
एकार्काको छानामाथि ढुङ्गा बर्साउँछन्
यस घरको छानामा घाम ताप्न बसेकी बूढीको चश्मा र
कौसीमा रमिता हेरिरहेकी दुलहीका चुराहरु फुट्छन्,
आधारातमा जब छिमेकीहरुले आपस्तमा
जहाँबाट जे पायो त्यसैले कुटाकुट गर्छन्
भोलिपल्ट बिउँझेर यस घरको बातको रोगी बुढाले
आफ्नो लौरी भाँचिएको पाउँछ।
यस्तो छ अभिशप्त घर
डढेलोको बीचमा उम्रेको खरजस्तो छ यो घर।
म
१. म एक पुत्र
एक पति
र एक पिता हुँ
२. म एक न्वारान
एक विवाह
र एक चिता हुँ
३. म एक होटल
एक बोतल
र एक प्याला हुँ
४. म एक श्रम
एक उत्पादन
र एक ज्याला हुँ
५. म एक इन्टरभ्यु
एक लामो क्यु
र एक क्यान्डिडेट् हुँ
६. म एक खाली बिल
एक खाली विभाग
र एक खाली पेट हुँ
७. म एक सभा
एक श्रोता
एक वाह
र एक ताली हुँ
८. म नेताजीको एक गीत
एक भाषण
र एक गाली हुँ
९. म एक जुलूस
एक उफ्र्याइँ
एक नारा
र एक झण्डा हुँ
१०. म एक आवश्यकता
एक माग
एक विरोध
र एक डण्डा हुँ
११. म केवल एक जुत्ता
एक सुरुवाल
एक कमीज
र एक कोट हुँ
१२. बस म केवल
एक क्रान्ति
एक प्रजातन्त्र
एक चुनाउ
र एक भोट हुँ
केवल एक भोट हुँ ।
रात काठमाडौं प्रातः
बाग्मतीपारि स्याल,
र वारि कुकुरहरु कराउँदा
सशङि्कत पोथी कुखुराझैं
घिच्रो तन्काएर
हेर्छन् देवलहरुले
वरिपरिका खोरहरुलाई
पखेटा झारेर
र अन्धकारले तिनलाई डोकोभित्र छोप्छ।
अज्ञात दुलोबाट निस्केर
डस्छ गोमनले काठमाडौंलाई
र विष सर्दै–सर्दै धरहराको टुप्पोनिर पुग्छ,
गल्लीहरुका नसाभित्र रगत
कालो हुँदै जान्छ
एक्कासि अदृश्य कुनै धामीको
मन्त्रमा बाँधिएर
मुग्ध सर्पः नयाँ सडक
सलबलाउँदै आउँछ
आङभरि धामीले फालेका
मन्त्रबद्ध सेता कौडाहरु टाँसेर
र चुस्छ, चुसिरहन्छ रातभरि
बेहोश काठमाडौंको शरीरबाट आफ्नो विष
बल्ल–बल्ल प्रातःमा
चल्मलाउँछ काठमाडौं पीडामय बेहोशीबाट
–बिउँझेर
र बोली फुट्छ अनि स्तब्ध धाराहरुका
र हाँस्न थाल्छन् उन्मुक्त झ्याल र ढोकाहरु।