हातमा फोहोर लागेका
बाँदर सदा र सर्वत्र
दुर्गन्धले पीडित हुन्छ
सुन्तलाको घारीमा ऊ
दुर्गन्धले निसासिन्छ
गुलाफ फुलेको देख्ता
उसले नाक थुन्छ
दूषित हात उचालेर
आफ्ना अंगहरुलाई
बचाउने चेष्टा गर्छ
घृणित स्पर्शबाट आफ्नै हातको
अनि सफलताको चीत्कार बोकेर
ऊ वन–वन दगुर्छ
रुख, ढुङ्गा आदिमा हात पुस्छ
खोला–नालाको पानीमा हात चोपेर
ऊ मुक्त हुन खोज्छ दुर्गन्धबाट
तर प्रत्येक प्रयासपछि
हात सुँघ्दा दुर्गन्ध
झन् बढेको पाउँछ
अनि बहुलाझैं
रुख हाँगाहरुका सारा
फलफूलहरु झार्दै
सुगन्ध र स्वादलाई मेटेर
कम गर्न खोज्छ आफ्नो
दुर्गन्धको प्रभावलाई
र अन्तमा निराश भएर
कुनै ठाउँमा बसेर ऊ बर्बरतापूर्वक
घोट्न थाल्छ आफ्नो हात खस्रो
ढुङ्गामाथि
उसले ढुङ्गामा हात घोट्छ र सुँघ्छ
उसले आफ्नो हात सुँघ्छ र घोट्न
थाल्छ र घोटि नै रहन्छ
तबसम्म
जबसम्म कि उसको हात बेकम्मा हुँदैन
शङ्कालु बाँदरको जब एकचोटि
हात गन्हाउँछ
उसले बगैँचालाई उजाड
र आफ्नो हातलाई लुला बनाउँछ।
(रुपरेखा)
Archives: Poems
Description.
बेड–ल्याम्प
भोरको उज्यालोमा उसलाई निभाएर
सधैं –सधैं म घरबाट निस्कन्छु
र दिन–दिनभरि
सूर्यसरि
यस क्षितिजबाट त्यस क्षितिजमा
भट्किरहन्छु
मानिसहरुको बीचमा
अनि जब रातमा घर फर्कन्छु
ऊ त्यहीं त्यसरी नै
निभेर झोक्रिएर बसेको हुन्छ
जाग्छ मनको कुनै कुनामा
एक अव्यक्त माया
र हठात् म उसलाई स्पर्श गर्न पुग्छु
ऊ खुशीले धप्प बल्छ
ऊ मेरो कोेठाको ‘बेड –ल्याम्प!’
ऊ मेरी ‘धर्मपत्नी’!!
(‘आधुनिक नेपाली कविता’बाट)
प्रात: एक आघात
प्रत्येक दिन
चोरझैं सुटुक्क आएर
मलाई भोरले अलिकति निचोर्छ
ब्युँझन्छु म किरणहरूको स्पर्शले
देख्छु प्राचिका नियमित रूपमा माझिएका
सेतासेता उज्जवल दाँत
हुन्छ मनको कुनै कुनामा
एक हल्का तर तीक्ष्ण आघात
आह! सकिंदै गइरहेछ मेरो जीवन
प्रत्येक दिन एक निश्चित मात्रामा टुथपेष्टझैं।
मानी नभएको जिन्दगानी
आउँछन् जब किरण भोरका
झ्यालभित्र ज्वरको रापझैं
उठ्छु चूपचाप ओछ्यानबाट
घाममा सुकाएको गीलो कपडाको बाफझैं
हराउँछु दिन–दिनभरि घरबाहिर
रक्सी पिएर बिर्सेको पापझैं
रातको साथमा घर फर्कन्छुु
नशा उत्रेपछिको पश्चात्तापझैं
आह! यसरी बितिरहेछ जीवन
सन्निपातको रोगीको प्रलापझैं।
रिक्त शय्याको स्थानबाट
शय्याको भर्खर रिक्त भएको स्थानबाट
उठिरहेछ तातो बाफ
ठ्वाक…ठ्वाक…ठ्वाक
ठक…ठक..ठक्क
तल भर्याङ्गमा सुनिन्छ
टाढा गइरहेको
क्रमशः क्षीण भइरहेको
कसैको परिचित
तर असन्तुलित पदचाप
एकछिनको निम्ति वातावरण बेहोश हुन्छ
पुनः सुनिन्छ कोर्राको फटकार
बग्गीको खड–खड, घोडाको चीत्कार
बाटोको ढुङ्गा र माटोको सम्मिलित हाहाकार
म भने शय्यामा पल्टिरहेर
निस्पन्द, निश्चल, चूपचाप
सोचिरहेेछु मैले
एकैछिन पैले
के गरे–प्रणय कि पाप!
पुनः सोच्छु–यो म के सोचिरहेछु
के यो मेरो सोचाइ मात्र? जिज्ञासा मात्र?
कि मेरो अन्तसले मसित लुकाएको पश्चात्ताप?
मेरो जीवन लेकझैँ
मेरो जीवन लेकझैं बिरानो थियो
मेरो दुनियाँ
मुर्दा पोल्ने बगरझैं सुनसान थियो
र म आफ्नो जीवनको लेकमा
चमरी गाईको गोठालोझैं एक्लो थिएँ
तर एक–दिन
तिमी मेरो जीवनमा भैंचालोझैं अकस्मात् आयौ
तिमीले मसित प्रीत लायौ
मेरो स्वरमा–स्वर मिलाएर गीत गायौ
मैले बधाई दिएँ आफनो यौवनलाई
अन्तमा तिमीले पनि कसैको प्रीत पायौ
तर
जस्तो कि थियो मलाई डर
निरन्तर अपमानित भएको मानिसको हृदयभित्र
अभिमान थाकेझैं
वृद्ध शरीरभित्र प्राण थाकेझैं
तिमी मेरो प्यारमा थाक्यौ
अनि फेरि आउँला भनी
नदीको लहरमा नाचेको पातझैं
भोरको प्रतीक्षामा बाँचेको रातझैं
तिमी बेपत्ता भयौ
कुन्नि कता गयौ
यद्यपि मलाई थाहा थियो
तिमी अब कहिल्यै आउँदिनौ
मेरो स्वरमा स्वर मिलाएर अब तिमीले
कहिल्यै गाउँदिनौ
तैपनि मैले तिम्रो प्रतीक्षा गरें
तिमी भने
कुनै अप्रसिद्द नयाँ लेखकको
प्रथम पुस्तकको दोस्रो संस्करणझैं
वादा गरेर पनि कहिल्यै आइनौ
म भने
आज पनि विना कुनै आशको
विना कुनै विश्वासको
कुनै कुरुप बूढी कन्याको सिउँदोले
सिन्दूरलाई पर्खेझैं
तिमीलाई पर्खिरहेछु
किनकि आज म भित्र–भित्रै
हिमशिलाझैं चर्किरहेछु।
भूपी शेरचन (व्यंग्यात्मक सेल्फ पोट्रेट )
केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुन: लेख्छन्
पुन: हेर्छन्
लामो सास फेर्छन्
कठैबरा, बिचरा
‘भूपी’ शेरचन!
असार
दूर लाहुरबाट
लामो याद
र छोटो बिदा बोकेर
प्रत्येक वर्ष
दशैंमा घर फर्कने लाहुरेझैं
ह्रदयभरि सँगीसाथीको लागि प्यार बोकेर
झोलाभरि दिदीबहिनीहरूका लागि उपहार बोकेर
खल्तीभरि सोल्टिनीका लागि इन्द्रेनीको हार बोकेर
गुन्टा बोक्ने भरिया बादललाई
फकाएर फुलाएर
अघि-अघि
छिटो-छिटो पठाएर
पछि-पछि आफू
झुम्दै-झाम्दै
नाच्दै गाउँदै
बाटोभरि मादल बजाउँदै
बूटको आवाजले
आकाश घन्काउदै
हतार-हतार
चुहाउँदै पसीनाका धार
प्रत्येक वर्ष आउँछ असार।
जीवनको अँध्यारो सडकमा
जीवनको अँध्यारो सडकमा
सफलता
साइकलको डाइनेमाबाट बल्ने बत्तीझैं लाग्छ
कि जबसम्म
गतिको पैडिलमाथि
मेरो खुट्टा चलिरहन्छ
मेरो पथमा यो बत्ती बलिरहन्छ
तर जसरी नै म थाक्छु
र मेरो खुट्टा रूक्छ
अन्धकार मेरो अगाडि आएर भुक्छ।
हिंड्दा–हिंड्दै
हिंड्दा–हिंड्दै केही सम्झेर
बटुवा बाटोमा हाँसेझैँ
किसानको हृदय अन्न बनेर
खेतको माटोमा हाँसेझैँ
तिमी हाँस्ता यस्तो लाग्छ प्रिये!
तिमी मेरो साटोमा हाँसेझैँ।
दुई टुक्रा
१. जहिले पनि भर्खरकी किशोरीजस्ती
साँच्चिकै तिमी हिमालकी छोरीजस्ती
कुन्नि के छ तिमीमा, जो अरुमा छैन
कि तिमीलाई जति पाए पनि थोरैजस्ती
२. एकलास तिम्रो बाटोमा रमाइलो साथ दिन सक्तिनँ म
तिमी थाकेर ढल्दा सहाराको हात दिन सक्तिनँ म
बर्सनै नपाई डाँडा काटेको बादल मेरो यौवन
चाहेर पनि ए ओइलाउँदी कली! वर्षाद दिन सक्तिनँ म।
मेरा साथीहरू
‘मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर, पिउन झन् गाह्रो छ ।
मरेर शहीद हुनेहरू
जिएर त हेर, जिउन झन् गाह्रो छ !!’