मेरो चोक

साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ ।
असङ्ख्य रोग छ,
अनन्त भोक छ,
असीम शोक छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ ।
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन ? सबथोक छ ।
यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता
यी दुबैथरीको निवास छ ।
तर यहाँ यी दुवैथरी उदास छन् ।
दुवैथरी निराश छन् ।
मानिस उदास छन्
किनकि तिनलाइ यहाँ
रात-रात-भरि उपियाँले टोक्छ
दिन दिन-भरि रुपियाँले टोक्छ
र देवता उदास छन्
किनकि तिनलाइ यहाँ
न कसैले पुज्छ, न कसैले ढोग्छ
त्यसैले यो चोकमा
देवता र मानिसले
एक-अर्कोलाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ ।

(२०१७–साहित्य)

मैनबत्तीको शिखा

शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबत्तीको ।
मानौं,
प्रथम रजस्वलापछि
स्नान गरेर
शारदीय घाममा
आफ्नो कौमार्य छरेर
थकित–थकित झैँ
चकित–चकित झैँ
एक्लै–एक्लै मुस्काइरहेको
अनुहार हो यो कुनै
सुन्दरी नवयुवतीको ।
शुभ्र, शान्त, स्निग्ध
शिखा मैनबत्तीको ।
आँखाभरि वेदनाको पानी
तर, हर्षले हाँसिरहेछ आँखाको नानी
मानौं, अप्रेशनपछि
होशमा आएर
घोर पीडामा पनि
शिर अलिक उठाएर
नवजात शिशुलाई निहालिरहेको
सन्तुष्ट आँखा हो यो
कुनै पुत्रवतीको ।
शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबत्तीको ।
एकातिर धप्प–धप्प
बलिरहेछ अनुहार
अर्कातिर तप्प–तप्प
ढलिरहेछ अश्रुधार ।
मानौं यो कुनै विधवाको
त्यो क्षणको अनुहार हो
जब कि उसलाई आएछ याद
एकसाथ
सुहागरात र स्वर्गीय पतिको ।
शुभ्र,शान्त र स्निग्ध
शिखा मैनबत्तीको।

(२०१६)

सधैं–सधैं मेरो सपनामा

सधैं–सधैं मेरो सपनामा
असङ्ख्य युवती आमाहरु
मेरो अगाडि आउँछन्
र बहुलाई झैं
‘अब मेरो दूधको कुनै मूल्य छैन
अब मेरो मातृत्वको कुनै अर्थ छैन―’
भन्ने गीत गाउँछन्
र मलाई देखाई–देखाईकन
सुँगुरका भद्दा गन्दा बच्चाहरुलाई झैं
आफ्नो अतिशय दूधले गानिएको
स्तन चुसाउँछन्
अनि एक्कासि
छाती पिट्दै
कपाल लुछ्दै मसँग आफ्ना हराएका छोराहरु माग्न थाल्छन्
सधैं–सधैं मेरो सपनामा
असङ्ख्य जीवनद्वारा लत्याइएका
र मृत्युद्वारा नपत्याइएका
जीर्ण तन वृद्धहरु
र विदीर्ण मन वृद्धाहरु
मेरो अगाडि आएर लम्पसार पर्छन्
र म  सँग
आफ्नो अथाह भविष्यको सूत्र माग्छन्
आफ्नो हराएको एक मात्र पुत्र माग्छन्
सधैं–सधैं मेरो सपनामा
असङ्ख्य युवती विधवाहरु मेरो अगाडि आएर
आफूलाई सम्पूर्ण रुपमा नङ्ग्याउँछन्
र आफ्नो हिउँजस्तो कोमल तनमा
दुनियाँको कामुक आँखाले पोलेको
काला–काला डामहरु देखाउँछन्
र मसँग आफ्नो जीवनको सहारा माग्छन्
मसँग आफ्नो यात्राको किनारा माग्छन्
सधैं –सधैं मेरो सपनामा
क्षयका कीटाणु बोकेका
असङ्ख्य टुहुरा केटा–केटीहरु
मेरो अगाडि आउँछन्
र मसँग स्कूलको फीस
पुस्तक किन्ने पैसा
क्रिकेटको बैट
र पिताको चुम्बन माग्छन्
र माग्छन् सुरक्षा
र मिठो निद्राले भरिएको रात
यसरी नै सधैं –सधैं मेरो सपनामा
मलायाका असङ्ख्य–असङ्ख्य मानिसहरुको
आँसुको एक ठूलो सागर बन्छ
जसको प्रत्येक लहरमा
एक लाश माथि उठ्छ
एक लाश तल डुब्छ
तर डुब्नुभन्दा अगाडि मलाई
प्रत्येक लाशले घृणाले हेर्छ
आह, मेरो सपनामा मलाई
मेरो विपनाको इतिहासले घृणा गर्छ।

(२०१६–शारदा)

वसन्त

सारा ढोका र झ्यालहरु लातले खोलेर
डाँकाझैं आउँछ हावा कोठाभित्र
र एक छिनमै दराजहरु उघारेर,
कागतपत्रहरु पल्टाई हेरेर
केही नपाउँदा रिसले रन्थनिएर
अरु झ्यालहरुबाट हाम्फालेर भाग्दछ।
आकाशको आँखा दुखेको छ
ऊसित आँखा जुधाउँदा आफ्नै आँखा पीरो हुन्छ,
ज्वरपीडित सूर्य सकी नसकी हिंडिरहेछ आकाशमा
तुवाँलो भुवाको खास्टो ओढेर
झ्यालमा उभिएर एक्लै,
म बाहिर हेरिरहेछु
हेरिरहेछु र सोचिरहेछु– यो कस्तो वसन्त
यो चैतको दिनको कस्तो उराठलाग्दो पहर हो !
यो कस्तो मुर्दा शहर हो !

सडकका दुई किनारमा वसन्तको स्वागतार्थ
हरियो सारी हतार–हतार बेरेर उभिएका झ्याङहरु
अबीरका थाल बोकेका आरुका रुखहरु ,
लावाका थाल बोकेका आलुबखडाका रुखहरु
अनि स्कूलका केटाकेटीहरुझैं
रङ्गीन झण्डाहरु हल्लाइरहेका फूलका सानासाना बोटहरु
म हेरिरहेछु
देखिरहेछु
र सोचिरहेछु
वसन्त यहाँ किन आउँछ विदेशी पाहुनाझैं
येा कस्तो औपचारिकता
किन आउँदैन ऊ त्यसरी
जसरी युवावस्थामा जुँघारेखी आउँछ ?
या हर्षमा मुस्कान
आफै, अनायास र अनजान,
उफ् यो कस्तो वसन्त हो !
यो कस्तो वसन्त हो !
जता हेर्यो उतै देखिन्छ
भित्र ठोस हुन छाडेर
बाहिरै बाहिरै मात्र बढेर अग्ला भएका
बाँसका ठानाहरुलाई नुहेर
पश्चात्ताप गरिरहेका आफ्नो खोक्रोपनमाथि
आफ्नो हातको बलभन्दा
गह्रुङ्गो रातो फूल समाएका
कल्कीका बोटहरुलाई
दुई हात तल झारेर उभिरहेका
यी लत्रेका हातहरुले रातो फूल समात्ने के दर्कार
के अधिकार
टाढा–टाढासम्म उभिएका छन्
न्यास्रो अनुहार लाएका असङ्ख्य मौन घरहरु
प्रत्येक घरकेा मुखमा झुण्डिएको छ विदेशी ताल्चा
भोटे ताल्चा अथवा हिन्दूस्तानी ताल्चा
कुनै घरको मौलिक ओठ छैन
यो कस्तो वसन्त !
खोइ मानिसहरुले चोला फेरेका ?
खोइ घरहरुले बोक्रो फेरेका
खोइ
खोइ
खोइ
म चिच्याउन चाहन्छु―खोइ
तर खोइ मेरो आवाज किन निस्कन्न ?
के भयो मेरो आवाजलाई
यो के हो डल्लो गुच्चाजस्तो मेरो घाँटीमा
जो मैले घाँटीखोल्दा मुखमा गई अड्कन्छ
र मुख खोल्दा घाँटी थुन्न पुग्दछ
अनि यस्तो लाग्छ मानौं
अब ममा कुनै उम्लाइ छैन
कुनै उत्तेजना छैन
कुनै आवाज छैन
कुनै विस्फोट छैन
मभित्रको मानिस मरिसक्यो
अब त फगत् मेरो रुपमा उभिएको छ,
पड्किसकेको सोडाको एक बोतल―
एउटा खाली बोतल ?

(२०१७―रुपरेखा)

हामी

हामी जतिसुकै माथि उठौं,
जतिसुकै यताउति दगुरौं,
जतिसुकै ठूलो स्वरमा गर्जौं
तर, हामी फगत् पानीको थोपा हौं
पानीका निर्बलिया थोपा
जो सूर्यद्वारा माथि उचालिन्छौं
र बादल बन्छौं ,
हावाको इशारामा यताउति दगुर्छौं
र आफूलाई गतिशील भन्ठान्छौं ,
अनि एक चोटी माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सन्छौं
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुर
झ्यालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुकेझैं
हामी भुक्तछौं
र आफ्नो कुकुरभुकाइलाई गर्जन भन्ठान्छौं
अनि अन्त्यमा एक दिन बर्सेर चकनाचूर हुन्छौं
र फेरि परिणत हुन्छौं पानीका थोपाहरुमा
निर्बलिया थोपाहरुमा
र कुनै इनार, खाडल वा पोखरीमा
कुहेर विताउँछौं बाँकी जीवन
टर्र… टर्र टर्टराउने घिनलाग्दा भ्यागुताहरु पालेर,
विष नभएका साँपहरु अँगालेर
हामी जतिसुकै माथि उठौं
जतिसुकै यताउति दगुरौं
जतिसुकै ठूलो स्वरमा गर्जौं
तर, हामी भित्र–भित्रै खोक्रा छौं
हाम्रो उठाइको कुनै महत्व छैन,
हाम्रो दगुराइको कुनै लक्ष्य छैन,
हाम्रो गर्जनको
पानीमा फालिएको अगुल्टाको ‘छवाइयँ’ भन्दा बढी वजन छैन।

——-

हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र–भित्र निरन्तर खिइंदै र घिस्सिदै गइरहेका छौं
हाम्रो बाहिरको उँचाइ झूटो हो,
भ्रम हो
अग्लो टाकुरामा उम्रेका च्याउका उँचाइभन्दा
यसको बर्ता महत्व छैन
वा दुइटा अग्ला बाँस खुट्टामा बाँधेर हिंड्ने
भारतीय चटकेको उँचाइभन्दा यसको बढी विशेषता छैन
अग्लो चुच्चे टोपी लगाई नाच्ने
सर्कसको जोकरको उँचाइभन्दा यसको बढी विशेषता छैन
हामी बाहिरको उँचाइमा रमेका छौं, लट्ठिएका छौं, फुलेका छौं
तर, हामीले आफ्नो आस्थाको द्वीपमा
निरन्तर खिइंदै र घिस्सिंदै गइरहेको कुरालाई भुलेका छौं
हीनताको सानो द्वीपमा पछारिएर
हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौं
हामीले आफ्नो विगत उँचाइलाई बिर्सिसक्यौं
हामीले मानिसको सामान्य उँचाइलाई बिर्सिसक्यौं
हामीले सामान्य मानिसको उँचाइलाई बिर्सिसक्यौं
त्यसैले जब कुनै सामान्य मानिस
कथामा वर्णित ‘गुलिभर’ झैं
आई पल्टन्छ हाम्रो आस्थाको द्वीपमा
हामी छक्क परेर उसलाई हेर्छौ
हामी उसलाई हेरेर छक्क पर्छौ
हामीलाई उसको उँचाइ देखेर आश्चर्य लाग्छ
हामीलाई आफ्नो पुड्काई देखेर डर लाग्छ
र त हामी आफ्नो हीन भावनाका
सियो जत्रा स–साना हतियारहरुको उसमाथि
प्रहार गर्छौ
उसको अङ्ग–प्रत्यङ्गमा चढ्छौं
उफ्रन्छौं
टोक्छौं
चिमोट्छौं
र अन्त्यमा थकित भएर तल ओर्लन्छौं
शान्त हुन्छौं
समर्पित हुन्छौं
र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले
तल ओर्लेर त्यसको पाउ पखालेझैं
हामी पुज्न थाल्दछौं  त्यो साधारण मानवलाई
महान् भनेर
हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र–भित्रै निरन्लर खिईदै गइरहेका छौं
हामी ‘लिलिपुट’ का मानव हौं।
हामी लघुमानव हौं।

– – –  – – —

हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्टयाइदिनुपर्ने,
हामी आफूखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रङ्ग–रोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौं
एउटा मनोरन्जक खेलका सामग्री,
एउटा खेलाडीमाथि आश्रित,
आफ्नो गति हराएका
एउटा ‘स्ट्राइकर’ द्वारा संचालित
हो, हामी मानिस कम र बर्ता गोटी हौं।

———-

हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं
हामी बुद्धू नभईकन वीर कहिल्यै हुन सकेनौं
हामी महाभारतको कथामा वर्णित एकलव्य हौं
प्रत्येक पिंढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ
हामीलाई ज्ञान दान गर्नबाट इन्कार गर्छ
इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई,
शक्तिलाई,
र अस्तित्वलाई
तर, हामी तिनै द्रोणाचार्यको मूर्ति बनाउँछौं
आफ्नो झुप्रो अगाडि,
त्यसलाई पुज्छौं
ढोग्छौं
निरन्तर धनुर्विद्याको अभ्यास गर्छौं
र द्रोणाचार्यका अन्य कुलीन
चेलाहरुभन्दा बढी कुशलता प्राप्त गर्छौं
तर, हाम्रो कुशलतादेखि आश्चर्यचकित
र भयभीत भई
प्रत्येक पिंढीमा द्रोणाचार्य हामीकहाँ आउँछ
र गुरु–दक्षिणा माग्छ
र हामी सहर्ष उसको इशारामा
आफ्नो बूढी औंला काटेर उसलाई भेटी दिन्छौं ,
आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गर्छौं
र मक्ख पर्छाै आफ्नो गुरुभक्ति माथि
आफ्नो आत्मशक्तिमाथि
त्यसैले त हामी वीर त छौं
तर, बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं
हामी बुद्धू नभईकन वीर कहिल्यै हुन सकेनौं
हामी कसैको मूर्ति स्थापना नगरीकन
वीर कहिल्यै हुन सकेनौं

————-

हामी पाइतला हौं
केवल पाइतला
र फगत पाइतला
पाइतला : जसको भरमा शरीर उभिन्छ
पाइतला : जसको आधारमा शरीर हिँड्छ
पाइतला : जसको भरोसामा शरीर दगुर्छ
पाइतला : तर जो भन्ठान्छ कि
शरीरले कृपा गरेर उसलाई पालिरहेछ
दया गरेर उसलाई सँग –सँगै हिँडाइरहेछ
मक्ख पर्छ शरीरको महानतामाथि
र सधैं सम्पूर्ण शरीरको भार सहन्छ
सधैं शरीरको सबभन्दा तल रहन्छ
कहिल्यै शिर उचालेर माथि हेर्दैन
सधैं –सधैं नतमस्तक रहन्छ
हामी पाइतला हौँ
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो निधारले टीका थाप्छ,
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो घाँटीले माला लाउँछ
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो छातीले तक्मा टाँस्छ
हाम्रो टीका थाप्ने निधार अर्कै छ
हाम्रो माला लाउने घाँटी अर्कै छ
हाम्रो तक्मा टाँस्ने छाती अर्कै छ,
हामी त फगत कसैको इशारामा
टेक्ने, हिंड्ने र दगुर्ने पाइतलाहौं
केवल पाइतला
र फगत पाइतला।

———–

हामी केही पनि ह्वैनौं
र शायद त्यसैले केही ह्वौँ कि !
हामी कतै पनि, केही पनि छैनौं
र शायद त्यसैले कतै, केही छौं कि !
हामी बाँचिरहेका छैनौं
तर शायद त्यसैले पो बाँचेका छौं कि !
त्यसैले आओ ए शून्य पूजकहरु !
हामी सब मिलेर पुजौं यो शून्यतालाई
हामी सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो अस्तित्वको यो देवतालाई।

(२०१७–रुपरेखा)

मेरो देश

जहाँ
हिउँ परेको रातमा
जून, धरतीलाई भेट्न
हिमकणहरुको साथमा
मुस्कुराउँदै ओह्रालो झर्छ,
र धरतीलाई सर्वाङ्ग हाँसेको पाएर
झन् बढी मुस्कुराएर
आकाशमा फर्कने गर्छ;
जहाँ
आलुबखडाका हाँगा–हाँगामा
फुल्दछन् कुखुराका चल्लाहरु;
जहाँ
मृगमरीचिका पछि लाग्नेहरुको यादमा
रुन्छन् धूपी र सल्लाहरु;
जहाँ
बाह्रै महिना मानिसका गालामा
फुल्दछन आरुका फुल,
जहाँ मुटुको स्पन्दनझैँ उफ्री–उफ्री
खेल्छन् मृगशावकका हूल;
जहाँ
पहराबाट छहराले
खोलामा हाम्फाल्दछ;
जहाँ– रातमा पनि हिमचुलीले
आँगनमा घाम पाल्दछ;
जहाँ
प्रत्येक पहाडको काखमा नदी
छातीमा छहरा
र निधारमा लेक हुन्छ;
जहाँ
स–साना नदीहरुमा पनि
तूफानी समुद्रको वेग हुन्छ;
जहाँ
बटुवालाई प्रत्येक झ्याङबाट
झ्याउँकीरीले गिज्याउने गर्छ;
प्रत्येक अँधेरी पँधेरोमा
जूनकीरीले ज्योति फिजाउने गर्छ;
जहाँ शीतल हावामा बुई चढेर
कस्तूरीको सुगन्ध डुल्दछ;
जहाँ
एकबाजि आएर
घर फर्कन वसन्त भुल्दछ;
जहाँ
बटुवालाई भन्ज्याङमा रोकेर
हिमाल पंखा हम्कन्छ;
जहाँ
एक–अर्काको मुख हेरेर
नीलगिरि र धवलागिरि चम्कन्छ;
जहाँ
प्रत्येक रातमा आकाशले
मङ्गल–दीप सजाउँछ;
जहाँ प्रत्येक भोरमा धरतीले
एक गोरो छोरो जन्माउँछ;
जहाँ
हरिया–हरिया पहाडका फरिया
अलिक तल सारेर
निर्मल, स्वच्छ र न्यानो घाममा
हिमालले सधैँ ढाड सेकेको हुन्छ
म जति टाढा भए पनि त्यो मेरो देश
सधैं मेरो मनले
सपनामा पाइला टेकेको हुन्छ।

(२०१७–सङ्गम)

मध्यान्ह दिन र चिसो निद्रा

अखबारको ‘वान्टेड कालम’ मा
म आफ्ना आउने दिनहरुको अनुहार खोजिरहेछु,
प्रत्येक जुलूस, सभा, भाषण
र नयाँ योजनाका फाइलहरुमा
पाइला टेक्ने आधार खोजिरहेछु–
नयाँ बजेटको ओठमा
खोजिरहेछु आश्वाशन
रेडियो–घोषणासँग मागिरहेछु
सान्त्वनाका दुई शव्द
नयाँ पे–स्केलले नापिरहेछु
म आफ्नो परिवारको आयु;
प्रत्येक खाली सीटको सूचनाले
मलाई जवान बनाउँछ
प्रत्येक इन्टरभ्यूको परिणाम सुनेर
जीवन, काखीको पसीनाझैं गन्हाउँछ,
आमाको ममतामा पनि
कसैले नैराश्य घोल्दछ,
बाबुको प्रोत्साहनमा पनि
चिसो सुस्केरा बोल्दछ
कुमारी बहिनीको सिउँदोसँग, सिन्दूर झस्केझैँ लाग्छ
पत्नीले थालमा सधैं–सधैं
व्यङ्ग्य पस्केझैं लाग्छ
एक युग बित्यो
म आफ्नो बिन्तिपत्रजस्तो अनुहार बोकेर
भट्किरहेछु दर–दर
पुगिरहेछु घर–घर
एक चिसो निद्राले मलाई
छोपिरहेछ निरन्तर,
मलाई थाहा छ
यसपल्ट म निदाएँ भने
फेरि कहिल्यै पनि म बिउँझन सक्तिनँ
त्यसैले
ए झुसिल्कीराझैं लाम लागेकाहरु!
ए नाराका अक्षरहरु!
अरु जोर–जोरसित नारा लगाऊ
उफ! म निदाउन चाहन्न यो दिउँसै
मलाई जगाऊ, मलाई जगाऊ ।

(२०१७–रुपरेखा)

गलत लाग्छ मलाई मेरो देशको इतिहास

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो बाटोको बीचमा माटो खनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यो भूकम्पपीडित मन्दिर

ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधैं त्यही– सधैं उस्तै र
सधैं एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास
जब म
असङ्ख्य सीताहरुलाई सधैं
बाटो–दोबाटोमा,
गल्ली–गल्लीमा,
बजार– बजारमा,
देश–विदेशमा,
यूक्लिप्टसका रुखझैं नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल चूपचाप उभिएका
आफ्नो आत्माको गीत झारेर
कल्कीका बोटझैं
दुवै हात तल झारेर
तब मलाई गरुँ–गरुँ झैं लाग्छ
आफ्नै रगतको उपहास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सुन्छु : अमरसिंह काँगडासम्म बढेको कुरा
सुन्छु : तेन्जिङले सगरमाथा चढेको कुरा
सुन्छु : बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सुन्छु : अरनिकोको कलाले विश्व–मन हरेको कुरा
सुन्छु : सधैं सुन्छु र केवल सुन्छु
तर मलाई हुँदैन विश्वास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास।

घुम्ने मेचमाथि अन्धो मान्छे

दिनभरि
सुकेको बाँसझैं
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर;
दिनभरि
रोगी मलेवाझैं
आफ्नो छाती आफ्नै चुच्चोले ठुंगेर,
घाउहरु कोट्ट्याएर ;
दिनभरि
सल्लाघारीझैं एकलासमा
अव्यक्त वेदनाले सुँक्क–सुँक्क रोएर ;
दिनभरि
पाते च्याउझैं
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,
एउटा सानो छाताले आफूलाई ढाकेर
साँझमा
जब नेपाल खुम्चिएर काठमाडौं
काठमाडौं डल्लिएर नयाँ सडक
र नयाँ सडक– असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर,
टुक्रिएर,
अखबार, चिया र पानको पसल बन्छ;
किसिम–किसिमका पोशाकमा
ओहोर–दोहोर गर्छन् थरीथरीका हल्लाहरु
फुल पारेको कुखुराझैं कराउँदै
हिंड्छन् अखबारहरु
र ठाउँ–ठाउँमा अन्धकार पेटीमा उक्लिन्छ
मोटरहरुको प्रकाशदेखि तर्सेर
अनि असङ्ख्य मौरीको भुनभुन र डसाइदेखि आत्तिएर
म उठ्छु
न्यायको दिनमा प्रेतात्माहरु उठेझैं
र नपाएर विस्मृतिको ‘लेथे’ नदी
रक्सीको गिलाँसमा हाम्फाल्छु
र बिर्सन्छु आफ्नो पूर्वकथालाई
पूर्वजुनि र मृत्युलाई
यसरी नै सधैं
चियाको किटलीबाट एउटा सूर्य उदाउँछ,
सधैं रक्सीको रित्तो गिलाँसमा एउटा सूर्य अस्ताउँछ
घुमिरहेकै छ म बसेको पृथ्वी– पूर्ववत्
फगत म अपरिचित छु
वरिपरिका परिवर्तनहरुदेखि,
दृश्यहरुदेखि,
रमाइलोदेखि,
प्रदर्शनीको घुम्ने मेचमाथि
करले बसेको अन्धो जस्तै।

घण्टाघर

कुनै फाटेर
कुनै मुसाले काटेर
कुनै छोरा-नाति
सँगी-साथीहरुमा बाँडेर
एक-एक गरी–
फौजका सब पुराना जर्सीहरु सिद्धिए।
तर जतनसाथ बचाई राखेको
फौजी जीवनका दुइटा प्रिय चिन्ह
एउटा पुरानो डिजाइनको ठूलो, गोलो जेबघडी
छातीमा झुन्ड्याएर,
अनि एउटा पुरानो टोप शिरमा लगाएर
बुढेसकालका लामा र दिक्दारे दिन बिताउने
एउटा पेन्सनवाल बुढो लाहुरेझैं
रानीपोखरीमा बल्छी हालेर
तटमा उभिएर निरन्तर
झोक्रिइरहेछ घण्टाघर।

(२०१८–रचना)

घैंटोभित्र वटवृक्ष

साँघुरो घैंटोभित्र माटो जमाएर
उमारिएको वटवृक्षझैं
मैले आफ्ना दुइटा हाँगाहरु फैलाएँ
र म ओइलाएँ
आफ्नो वरिपरि निस्सासिंदो पर्खाल पाएर
अनि मैले मुक्त वायुमा सास फेर्न ठिङ्ग उभिएका
आफ्ना पाँच नाङ्गा औंलाहरु पट्याएँ
प्रकाशनको खोजीमा दगुरेका
आफ्ना हस्तरेखाहरुलाई पछाडि फर्काएँ
र अब म आफ्नै मुट्ठीभित्र बन्द छु
आफ्नै कठोरताभित्र कैद छु
तर कुनै दिन
तिमीले चिन्न सके आफूभित्रको बतासलाई
र प्रकाशलाई तिमीले
जान्नेछौ कि बाहिरबाट जतिसुकै
कठोर भए पनि भित्र–भित्रै
म कोमल छु
यो बन्द मुट्ठीभित्र हत्केलाझैं!
(२०१८–शारदा)

मेरा विगतका सपनाहरु

भारी ट्रकमुनि थिचिएर
मर्यो एउटा कलिलो ठिटो
हत्केला खोलेर
उसको आयुरेखा लामो थियो
लामो थियो
मेरा विगतका असफल सपनाहरु जस्तै।

(२०१८–रुपरेखा)

ए जून !

मेरो जस्तै ए जून !
झूटो हो तिम्रो हाँसो पनि
फरक छैन तिम्रो र मेरो
भित्र–भित्र रोएर पनि बाहिरबाट हाँस्ने बानीमा
फरक यति मात्र छ हामी दुइटाको कहानीमा
कि तिमी रुन्छौ र तिम्रो आँसु शीत बन्छ
म रुन्छु र मेरो आँसु गीत बन्छ।

(२०१९–रुपरेखा)

शहिदहरुको सम्झनामा

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए
ओठमा हाँसो, गालामा लाली तब आउँछ जगतको
देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फासीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बीउ छरेर नगए
हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको
हाम्रो मुटुको प्रत्येक चालमा छ धडकन शहीदको
हाम्रा खुशीका प्रत्येक पलमा छ जीवन  शहीदको
पाउने थिएनौं खुशी तिनले छाडेर नगए
हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला
धरतीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्ला
शहीद रोलान् हामीले उन्नति गरेर नगए
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए !

(२०१९–रचना)

पोखरा

१. उपत्यका वरिपरिका डाँडा
म्यूजिकल चेयरका खेलाडी
सङ्गीतमा बाँधिएका
हिड्नलाई तयार
बाजा बज्ने प्रतीक्षामा उभिहेका

२. कतै लुकेर
कतै फुकेर
एउटा गहिरो डहरबाट एक्कासि निस्केर
बगिरहेछ सेती खोला
टेप–रिकर्डको फित्ताझैं
एउटा मीठो धून सुसेलेर

३. माछापुच्छ्रे
एक बिहान हेर्छ अनुहार फेवामा
र मिलाउँछ शिरमा
सेतो–कालो टोपी सक्कले ढाकाको

४. हनिमून मनाउन आएको गोरासाहेब
एक बाजि हेर्छ काउँ डाँडालाई
र हेर्छ विस्फारित नयनले
मीमसाहेवका उन्नत वक्षस्थललाई
अनि हल्लिन्छ छाया लालपातीको
‘मीम सा’ब’ का मर्करी गलामा

५. हवाईजहाज आइरहेका छन्
हवाईजहाज गइरहेका छन्
हवाईजहाज आइरहेछन्
हनिमून मनाउने जोडाहरु बोकेर,
हवाईजहाज गइरहेछन्
‘ब्या’ को भोलिपल्टै
कच्छमा जान डाकिएका लाहुरेहरु बोकेर,
हवाईजहाज आइरहेछन्
माछापुच्छ्रे हेर्न आएका टुरिष्टहरु बोकेर,
हवाईजहाज गइरहेछन्
डोको, मदुस र हलो बोकेर,
चितौनमा जग्गा खोज्न जान लागेका
माछापुच्छ्रेका सन्तानहरु बोकेर,
जहाज आइरहेछन्
जहाज गइरहेछन्
एअरपोर्टका चौतारोमाथि
एकनास
गाइरहेछ एउटा अन्धा
‘चरीको आउदैन दूध
दुःखीको हँदैन घरबार।’

(२०२२)