Poetry
वसन्त
सारा ढोका र झ्यालहरु लातले खोलेर
डाँकाझैं आउँछ हावा कोठाभित्र
र एक छिनमै दराजहरु उघारेर,
कागतपत्रहरु पल्टाई हेरेर
केही नपाउँदा रिसले रन्थनिएर
अरु झ्यालहरुबाट हाम्फालेर भाग्दछ।
आकाशको आँखा दुखेको छ
ऊसित आँखा जुधाउँदा आफ्नै आँखा पीरो हुन्छ,
ज्वरपीडित सूर्य सकी नसकी हिंडिरहेछ आकाशमा
तुवाँलो भुवाको खास्टो ओढेर
झ्यालमा उभिएर एक्लै,
म बाहिर हेरिरहेछु
हेरिरहेछु र सोचिरहेछु– यो कस्तो वसन्त
यो चैतको दिनको कस्तो उराठलाग्दो पहर हो !
यो कस्तो मुर्दा शहर हो !
सडकका दुई किनारमा वसन्तको स्वागतार्थ
हरियो सारी हतार–हतार बेरेर उभिएका झ्याङहरु
अबीरका थाल बोकेका आरुका रुखहरु ,
लावाका थाल बोकेका आलुबखडाका रुखहरु
अनि स्कूलका केटाकेटीहरुझैं
रङ्गीन झण्डाहरु हल्लाइरहेका फूलका सानासाना बोटहरु
म हेरिरहेछु
देखिरहेछु
र सोचिरहेछु
वसन्त यहाँ किन आउँछ विदेशी पाहुनाझैं
येा कस्तो औपचारिकता
किन आउँदैन ऊ त्यसरी
जसरी युवावस्थामा जुँघारेखी आउँछ ?
या हर्षमा मुस्कान
आफै, अनायास र अनजान,
उफ् यो कस्तो वसन्त हो !
यो कस्तो वसन्त हो !
जता हेर्यो उतै देखिन्छ
भित्र ठोस हुन छाडेर
बाहिरै बाहिरै मात्र बढेर अग्ला भएका
बाँसका ठानाहरुलाई नुहेर
पश्चात्ताप गरिरहेका आफ्नो खोक्रोपनमाथि
आफ्नो हातको बलभन्दा
गह्रुङ्गो रातो फूल समाएका
कल्कीका बोटहरुलाई
दुई हात तल झारेर उभिरहेका
यी लत्रेका हातहरुले रातो फूल समात्ने के दर्कार
के अधिकार
टाढा–टाढासम्म उभिएका छन्
न्यास्रो अनुहार लाएका असङ्ख्य मौन घरहरु
प्रत्येक घरकेा मुखमा झुण्डिएको छ विदेशी ताल्चा
भोटे ताल्चा अथवा हिन्दूस्तानी ताल्चा
कुनै घरको मौलिक ओठ छैन
यो कस्तो वसन्त !
खोइ मानिसहरुले चोला फेरेका ?
खोइ घरहरुले बोक्रो फेरेका
खोइ
खोइ
खोइ
म चिच्याउन चाहन्छु―खोइ
तर खोइ मेरो आवाज किन निस्कन्न ?
के भयो मेरो आवाजलाई
यो के हो डल्लो गुच्चाजस्तो मेरो घाँटीमा
जो मैले घाँटीखोल्दा मुखमा गई अड्कन्छ
र मुख खोल्दा घाँटी थुन्न पुग्दछ
अनि यस्तो लाग्छ मानौं
अब ममा कुनै उम्लाइ छैन
कुनै उत्तेजना छैन
कुनै आवाज छैन
कुनै विस्फोट छैन
मभित्रको मानिस मरिसक्यो
अब त फगत् मेरो रुपमा उभिएको छ,
पड्किसकेको सोडाको एक बोतल―
एउटा खाली बोतल ?
(२०१७―रुपरेखा)