Poetry
मेरो देश
जहाँ
हिउँ परेको रातमा
जून, धरतीलाई भेट्न
हिमकणहरुको साथमा
मुस्कुराउँदै ओह्रालो झर्छ,
र धरतीलाई सर्वाङ्ग हाँसेको पाएर
झन् बढी मुस्कुराएर
आकाशमा फर्कने गर्छ;
जहाँ
आलुबखडाका हाँगा–हाँगामा
फुल्दछन् कुखुराका चल्लाहरु;
जहाँ
मृगमरीचिका पछि लाग्नेहरुको यादमा
रुन्छन् धूपी र सल्लाहरु;
जहाँ
बाह्रै महिना मानिसका गालामा
फुल्दछन आरुका फुल,
जहाँ मुटुको स्पन्दनझैँ उफ्री–उफ्री
खेल्छन् मृगशावकका हूल;
जहाँ
पहराबाट छहराले
खोलामा हाम्फाल्दछ;
जहाँ– रातमा पनि हिमचुलीले
आँगनमा घाम पाल्दछ;
जहाँ
प्रत्येक पहाडको काखमा नदी
छातीमा छहरा
र निधारमा लेक हुन्छ;
जहाँ
स–साना नदीहरुमा पनि
तूफानी समुद्रको वेग हुन्छ;
जहाँ
बटुवालाई प्रत्येक झ्याङबाट
झ्याउँकीरीले गिज्याउने गर्छ;
प्रत्येक अँधेरी पँधेरोमा
जूनकीरीले ज्योति फिजाउने गर्छ;
जहाँ शीतल हावामा बुई चढेर
कस्तूरीको सुगन्ध डुल्दछ;
जहाँ
एकबाजि आएर
घर फर्कन वसन्त भुल्दछ;
जहाँ
बटुवालाई भन्ज्याङमा रोकेर
हिमाल पंखा हम्कन्छ;
जहाँ
एक–अर्काको मुख हेरेर
नीलगिरि र धवलागिरि चम्कन्छ;
जहाँ
प्रत्येक रातमा आकाशले
मङ्गल–दीप सजाउँछ;
जहाँ प्रत्येक भोरमा धरतीले
एक गोरो छोरो जन्माउँछ;
जहाँ
हरिया–हरिया पहाडका फरिया
अलिक तल सारेर
निर्मल, स्वच्छ र न्यानो घाममा
हिमालले सधैँ ढाड सेकेको हुन्छ
म जति टाढा भए पनि त्यो मेरो देश
सधैं मेरो मनले
सपनामा पाइला टेकेको हुन्छ।
(२०१७–सङ्गम)