Poetry
मध्यान्ह दिन र चिसो निद्रा
अखबारको ‘वान्टेड कालम’ मा
म आफ्ना आउने दिनहरुको अनुहार खोजिरहेछु,
प्रत्येक जुलूस, सभा, भाषण
र नयाँ योजनाका फाइलहरुमा
पाइला टेक्ने आधार खोजिरहेछु–
नयाँ बजेटको ओठमा
खोजिरहेछु आश्वाशन
रेडियो–घोषणासँग मागिरहेछु
सान्त्वनाका दुई शव्द
नयाँ पे–स्केलले नापिरहेछु
म आफ्नो परिवारको आयु;
प्रत्येक खाली सीटको सूचनाले
मलाई जवान बनाउँछ
प्रत्येक इन्टरभ्यूको परिणाम सुनेर
जीवन, काखीको पसीनाझैं गन्हाउँछ,
आमाको ममतामा पनि
कसैले नैराश्य घोल्दछ,
बाबुको प्रोत्साहनमा पनि
चिसो सुस्केरा बोल्दछ
कुमारी बहिनीको सिउँदोसँग, सिन्दूर झस्केझैँ लाग्छ
पत्नीले थालमा सधैं–सधैं
व्यङ्ग्य पस्केझैं लाग्छ
एक युग बित्यो
म आफ्नो बिन्तिपत्रजस्तो अनुहार बोकेर
भट्किरहेछु दर–दर
पुगिरहेछु घर–घर
एक चिसो निद्राले मलाई
छोपिरहेछ निरन्तर,
मलाई थाहा छ
यसपल्ट म निदाएँ भने
फेरि कहिल्यै पनि म बिउँझन सक्तिनँ
त्यसैले
ए झुसिल्कीराझैं लाम लागेकाहरु!
ए नाराका अक्षरहरु!
अरु जोर–जोरसित नारा लगाऊ
उफ! म निदाउन चाहन्न यो दिउँसै
मलाई जगाऊ, मलाई जगाऊ ।
(२०१७–रुपरेखा)