Poetry
भैरहवा
टाढा-टाढासम्म
जता हेर्यो उतै मैलो, फुस्रो धरती
उजाड, उदाङ्ग
आदिदेखि अन्तसम्म एकनास
न कतै गर्वले उठेको छ
न कतै विनम्रताले झुकेको छ
न कतै उन्मुक्त मनले खुलेको छ
न कतै जलाउँदै लुकेको छ
नखदेखि शिखसम्म
वक्ष, नितम्ब केही पनि विकसित नभएको
बाँझी तरूनीको आङजस्तो सपाट,
मुश्किलले तीस-चालिस
घरजस्ता घर
बाँकी कुभिन्डोका गाँड निस्केका
कुप्रा झुप्राहरू, डन्डीफोरझैं
यताउता जथाभाबी बेढङ्ग उठेका,
मानिस :
कोही पूर्वका
कोही पश्चिमका
कोही पहाड काँठका
कोही मधेश फाँटका
कोही भारतका, कोही भोटका
तर सब यहाँ भेला भएका छन्
खोजीमा हरिया नोटका
यहाँ मानिस कानेखुसी गर्छन्
नोट गनेको कागजे आवाजमा
पुरानो मोहर बजाएको आवाजमा
यहाँ मानिस हाँस्तछन्
यहाँ घाम उदाउँछ
पसलहरूका ढिकभित्रबाट
र बहीखातामा जिल्लाझैं राता हुन्छन्
यहाँ घाम डुब्छ कन्तुरमा
र बहीखाताका पाताहरू पंहेलिन्छन्
सन्ध्याकालीन क्षितिजझैं
टाढा-टाढा देखिन्छन्
बुटवलका डाँडाहरू केर-मेर केर-मेर
बहीखाता सिरानीमा ‘शुभलाभ’ लेखिएझैं
यो ठाउँ
एउटा यस्तो घरमा बसेजस्तो
जहाँ न भित्ता छन्
न खामा
न आँखा राख्ने झ्याल छ
न ह्रदय सजाउने गमला
न हाँसो उमार्ने बारी छ
न त कतै मिठो गीत सुनिन्छ
न कतै मनोहर दृश्य देखिन्छ
सुनिन्छ त फगत
हावामा पौडिरहेका ट्रान्जिस्टर
ब्रोङ्काइटिस भएका ट्रकहरूको खोकी,
बस्ने उमेर भएका बसहरूको घ्यार्र…. घ्यार्र
लाहुरेहरूको बुटको आवाज
र मठ्याहा नेपाली बोली – ’अच्छा यार’
र देखिन्छ त केवल
साँझमा
रिक्सा, साइकल, भट्टी र सडकमा
लाहुरेहरू र कान्छीहरूको मांसाहारी प्यार
उफ्! यो पट्याइलाग्दो ठाउँ
यो अत्यासलाग्दो ठाउँ,
जता हेर्यो उतै फुङ्ग उडेको
फुस्रो, न्यास्रो
भैरहवा
हिलोको तलाउबाट निस्केको
भैंसीको-‘भै’
तावामा छुटेर जलेको रोटीको – ‘र’
गालीजस्तो नरमाइलो तातो
हावाको-‘हवा’।