Poetry
एक कविता
‘भोक लाग्यो’ ठिटोप्रति
न गाँसको प्रबन्ध
न बासको ठेगाना
तैपनि
बाँचेकै छ
हुर्केकै छ
यो मगन्ते ठिटो
नयाँ सडकको पेटीमा
पेटीजस्तै सधैं असङ्ख्य पाउमुनि कुल्चिएर
——–
कसैको वासनाको द्रुतगामी रकेटमा राखेर
यो ठिटो उडाइयो
अनजान र अनिश्चित भविष्यको अन्तरिक्षमा
विना कुनै स्पेस सूट !
‘अक्सिजन मास्क’
र सुरक्षित सन्चालनको
तर ऊ
बेवारिसपनाको भारहीन अवस्थाबाट
सकुशल ओर्लियो
नयाँ सडकको पेटीमा
झुत्रो प्यारासुट ओढेर
——–
यो शिशु
जन्मियो यिशूजस्तै
कुमारी आमाको गर्भबाट
र बसेको छ अहिले ऊ
नयाँ सडकको पेटीमा
ल्याम्प–पोष्टको ‘क्रस’ बोकेर |
—–
पुसको जाडो
रौं ठाडो हुने रात
उदास, उजाड, फूटपाथ
एक कुनामा सिउरेर
सुतेको छ ऊ झुत्रो बोरा र पुराना अखबार ओढेर
अखबार : जसको छातीमा छापिएका छन्
ठूला–ठूला अक्षरमा ‘बालदिवस’ को समाचार
मन्त्रीज्यूबाट उद् qघाटन,
मिठाइ र पुरस्कार वितरण
तथा बाल–बालिकाहरुको प्रगतिको विज्ञापन
सुुत बाबा सुत
सुत ज्ञानी सुत
सुत राजा सुत
यसरी नै निश्चिन्त भई सुत
एक दिन यस्तो पनि आउनेछ
जब तिम्रा यी अखबार र झुत्रे बोराका
लुगा पनि
झुन्ड्याइने छन्– म्युजियममा
कालुपाँडेजस्तै
कालुपाँडेको लुगासँग
र त्यस बेला लेख्नेछ इतिहासकारले
‘उहिले–उहिले’ को नेपालमा
दुई थरीका मानिस थिए
एक थरी
जो अखबारमाथि पल्टन्थे
हेडलाइनको सिरानी हालेर
महत्त्वपुर्ण खबर बनेर,
अर्को थरी
जो त्यही खबरको न्यानो ओढेर
पुस–माघको जाडो काट्थे बेखबर भएर
…….उहिले–उहिलेको नेपाल
एउटा बासी अखबारजस्तो थियो।