कविका वारे

भूपी शेरचन नेपालमा अत्याधिक मन पराइएका कविहरुमा पर्नुहुन्छ । उहाँको जन्म बि. स. १९९२ पौष १० गते (२५ डिसेम्बर १९३५) मा हितमान शेरचन र पद्म कुमारी शेरचनको पाँचौं पुत्रका रुपमा थाकखोला मुस्ताङ्ग जिल्लामा भएको थियो। उहाँको परिवारले उहाँको नाम भूपेन्द्र मान शेरचन राखेका थिए। उहाँ ५ बर्षको हुँदा उहाँकी आमाको मृत्यु भएको थियो। ज्योतिषीहरूले उहाँ जन्मदां छोरा ‘मूल’ परेकोले माता पितालाई हानि गर्ने घोषणा गरेका थिए । त्यसैले उहाँको आमाको मृत्यु पश्चात वरपरका मानिसहरुले उहाँलाई आमा टोकुवा भनेर बोलाउनथाले। यस्ता ब्यंगले उहाँलाई अत्यन्तै मानसिक यातना हुन्थ्यो र साथै आफ्नो आमाको मृत्युको लागि साँच्चि कै जिम्मेवार हुँकी भन्ने पनि चिन्ता हुन्थ्यो । उदासिनता र मातृशोकका कारण उहाँले जीवनमा सधैं एक रिक्तता र परिवार प्रति आक्रोश र क्रोध महसुस गर्नु भयो ।

भूपी बाल्यावस्थामा पनि बुद्धिमान र तीक्ष्ण  हुनु हुन्थ्यो । ८ बर्षको उमेरमा उहाँ हिन्दू धर्मशास्त्रका महाभारत र रामायण कन्ठै पाठ गर्न सक्नु हुन्थ्यो। उहाँ अत्यन्त मनमोहक, विवेकी, र राम्रो वक्ता पनि हुनु हुन्थ्यो र श्रोताहरूलाई लामो समय सम्म मुग्धराख्न सक्ने भनेर चिनिनु हुन्थ्यो।

उहाँका बुबा राणाकालीन समयका शुरुका नेपाली व्यापारीहरूमध्ये एक हुनु हुन्थ्यो। उहाँ भारत र तिब्बतसँगको व्यापारमा संलग्न अग्रगामी व्यापारी हुनु हुन्थ्यो। परिवार सम्पन्न भए पनि उहाँका बुवा अनुशासन, कडा परिश्रम र साधारण जीवनयापनमा बिश्वास गर्नुहुन्थ्यो। बच्चाहरू बाट आज्ञाकारी हुने र एक सामान्य जीवनशैली बिताउने आशा गरिएको थियो।

प्रारम्भिक वर्षहरू

उहाँले आफ्नो प्रारम्भिक युवावस्था भारतको बनारस हिन्दू विश्वविद्यालयमा बिताउनुभयो जहाँ उहाँ साम्यवाद प्रति आकर्षित हुनुभयो। उहाँले ‘सर्बहारा’ नामबाट लेखन शुरु गर्नु भयो। उहाँको पहिलो प्रकाशित कृति ‘परिवर्तन’ नाटक हो। यो सन् १९५१ मा उहाँ १६ बर्षको हुँदा प्रकाशित भएको थियो र तात्कालीन राणा शासनको बिरूद्ध नेपालको स्वतन्त्रता आन्दोलनबाट प्रेरित भएको थियो। उहाँका दोस्रो प्रकाशित कृति ‘नयाँ झ्याउरे’ कविता संग्रह हो जुन सन् १९५३ मा बनारसको जनयुग प्रकाशनले प्रकाशित गरेका थिए। यो संग्रह कम्युनिष्ट विचारधाराबाट प्रेरित थियो। उहाँका तेस्रो प्रकाशन ‘निर्झर’ हो र यो सन् १९५८ मा भूपेन्द्रमान शेरचन नामबाट प्रकाशित भएको थियो। यस संग्रहका कविताहरू परम्परागत मेट्रिक रूपमा बध्द छन्।

भूपी शेरचन

‘निर्झर’ पश्चात उहाँले भूपी शेरचन नाम अपनाउनुभयो। बिक्रम सम्बत २०२६ मा साझा प्रकाशनले विभिन्न साहित्यिक पत्रिकाहरुमा प्रकाशित उहाँको कविताहरु संकलित गरेर ‘घुम्ने मेच माथि अन्धो मान्छे’ कविता संग्रह प्रकाशित गर्यो। यस संग्रहका कविताहरूले त्यो युग र त्यसपछिको परम्परा प्रतिबिम्बित गर्दछन्। त्यसमा समाहित कविताहरुले त्यसबेलाको सामाजिक अन्याय, गरीबी, भेदभाव, र राजनीतिक पाखंड प्रतिबिम्बित गर्दछन्। ती कविताहरुले अझै पनि साधारण मानिसका निराशा र क्रोध प्रतिनिधित्व गर्दछन्। यस संग्रहमा रहेका कविताहरू गद्य शैलीमा लेखिएका छन्। उहाँ भन्नुहुन्थ्यो मिटरहरूको सीमिततामा बसेर मानव भावनाहरू व्यक्त गर्न सकिंदैन। यी कविताहरु अत्यन्त सरल नेपाली भाषामा लेखिएका छन्, जसले गर्दा भावना र अर्थका गहनताका बावजूद सजिलै बुझ्न र अनुभव गर्न सकिन्छ। उहाँमा सबैभन्दा गहन विचार पनि अत्यन्त सरलताका साथ ब्यक्त गर्न सक्ने विशिष्ट क्षमता थियो । उहाँको ‘घुम्ने मेच माथि अन्धो मान्छे’ कविता संग्रह पहिलो साझा पुरस्कारबाट पुरस्कृत भएको थियो ।

घुम्ने मेच माथि अन्धो मान्छे कविता संग्रहले नेपाली कवितामा क्रान्तिकारी परिवर्तन ल्यायो। यो नेपालमा अझ सम्म पनि सबै भन्दा धेरै बिक्रि हुने कविता संग्रहहरु मध्ये एक हो।

अन्य विवरणहरू

उहाँ बि. स. २०३३ देखि  बि. स. २०४३ सम्म दुई पटकको लागि नेपाल राजकीय प्रज्ञा प्रतिस्ठानका सदस्य नियुक्त हुनुभएको थियो ।

उहाँले दुई पटक विवाह गर्नु भयो।

उहाँको पहिलो विवाह ओम कुमारी तुलाचनसँग १९ बर्षको उमेरमा भएको थियो र उहाँबाट ५ छोरी र १ छोरा छन् ।

उहाँको दोस्रो विवाह बि. स. २०२६ मा कान्ति राणासँग भएको थियो जसबाट १ छोरी र १ छोरा छन् ।

उहाँको मृत्यु २०४६ जेठ १ गते फोक्सो संग सम्बन्धित रोगको कारण भएको थियो ।